(१) समितिको साधारण बैठक अध्यक्षले आवश्यकतानुसार बोलाउने छ । कुनै सदस्यले कारण देखाई अनुरोध गरेमा पनि अध्यक्षले उचित ठानेमा सो बैठक बोलाउन सक्नेछ ।
(२) कुनै बैठक बोलाउनु भन्दा कम्तीमा २४ घण्टा अगावै बैठक हुने स्थान, समय र कार्यसूचीको सूचना समितिको सचिवले प्रत्येक सदस्यलाई दिनु पर्छ ।
(३) समितिले साधारणतया कार्यसूचीमा भएका विषयहरूलाई लिएर मात्र छलफल गर्नेछ । तर कुनै सदस्यले कार्यसूची भन्दा बाहिरको कुरामा छलफल गर्ने प्रस्ताव राखेकोमा अध्यक्षले उचित सम्झेमा कार्यसूचीमा भएका विषयहरूमा छलफल टुङ्गी सकेपछि नयाँ विषयमा समितिले छलफल गर्ने अनुमति दिन सक्नेछ ।
(४) अध्यक्ष अनुपस्थित भएमा उपाध्यक्ष र निज पनि उपस्थित हुन नसकेमा हाजिर भएका सदस्यहरूमध्ये सबैभन्दा सिनियर सदस्यले समितिको बैठकको सभापतित्व गर्नेछ ।
(५) पाँचजना सदस्यहरूको उपस्थितिलाई गणपुरक संख्या मानिने छ । तर सोही विषयमा अर्को पटक बैठक बोलाइएमा गणपुरक संख्या नभए तापनि बैठकको कार्य सञ्चालन गर्न सकिनेछ । समितिको बैठकको निर्णय साधारण बहुमतबाट हुनेछ । तर मत बराबर भएमा अध्यक्षले निर्णयात्मक मत दिनेछ ।